सप्तकोसीमा मोटरबोट दुर्घटना : ३ जनाको मृत्यु, बेपत्ताको खोजी जारी

लोकपथ
21
Shares

काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही यात्रु बेपत्ता भएका छन् । दुर्घटनामा कति जना बेपत्ता भए भन्ने अझै यकिन हुन सकेको छैन ।

आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको बताइएको छ ।

मोटरबोटमा सवार यात्रुको संख्याबारे फरक विवरण आएका छन् । सुरुमा १४ जना सवार रहेको जानकारी दिइए पनि पछिल्लो विवरणअनुसार ११ जनाले टिकट काटेको भनिएको छ । यद्यपि, मोटरबोटमा जम्मा १६ जना सवार रहेको हुन सक्ने बताइएको छ । यस आधारमा पाँच जना बेपत्ता भएको आशंका गरिएको छ ।

दुर्घटनापछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनाको कारणसमेत खुल्न सकेको छैन ।

बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको र यात्रुको यकिन संख्या पुष्टि हुन बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?