निर्माण व्यवसायीको सहयोगमा त्रिशूलीमाथि पुल, दशैँमा भयो सहज

लोकपथ
28
Shares

काठमाडौं । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो ।

एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गरे ।

गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत विच्छेद भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

संकट समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा निर्माण थालिएको पुल सञ्चालनमा आएसँगै दुवै बजारबीचको सम्पर्क पुनस्थापित भएको छ ।

उद्घाटन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले विपद्का समयमा खेलेको भुमिका प्रशंसनीय रहेको बताए ।

त्यस्तै, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल तथा बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने संरचना निर्माण भएकाले व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बन्ने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरणको जग्गा समेत उपयोग गरी निर्माण गरिएको उक्त पुलबाट सर्वसाधारणका साथै बिरामी बोकेका एम्बुलेन्स सेवा र आवश्यकताअनुसार मोटरसाइकल समेत आवतजावत गराउन सकिने स्थानीय सरोकारवालाहरूले जनाएका छन् ।

चाडपर्वको मुखमा पुल निर्माण सम्पन्न भएसँगै नुवाकोटवासीले सहज आवागमनको राहत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?