उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिनुका साथै गाँजा बोक्न प्रयोग गरिएको बोलेरोसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१ को चारघरेबाट गाँजा बरामद गरेको हो ।
प्रहरीले गएराति कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरेको थियो । तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आज बिहान चौदण्डीगढी नगरपालिका–१, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया