काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ ।
यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले प्रारम्भिक चरणमा देशका विभिन्न स्थानमा २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गरिने बताए ।
उनका अनुसार लामो समयदेखि अघि बढ्न नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई गति दिने उद्देश्यले एमओयू गरिएको हो । देशभरका सबै रंगशाला तथा खेल पूर्वाधारलाई एकैपटक स्तरोन्नति गर्न बजेट र प्राविधिक सीमितता रहे पनि २७ वटा महत्वपूर्ण आयोजनाबाट काम सुरु गर्नु सकारात्मक कदम भएको उनले बताए ।
‘पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच हालै एमओयू भएको छ । त्यसअन्तर्गत देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि बढाइएको छ,’ मन्त्री पोखरेलले भने, ‘देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्नु महत्वपूर्ण सुरुवात हो।’
सरकारले छनोट गरिएका स्थानमा तत्काल काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए ।
मन्त्री पोखरेलले उक्त परियोजनाले क्षेत्रीय तथा स्थानीयस्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । आगामी दिनमा खेलकुद पूर्वाधारमा थप लगानी विस्तार गर्ने सरकारको नीति रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया