‘लगानीको वातावरण सुधार्न सुधारिएका कानून प्रभावकारी रूपमा लागू गर्नुपर्छ’

लोकपथ
7
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधार गरिएका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी ‘लगानी र विकासका लागि कानून सुधार’ विषयक तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ढकालले आर्थिक सुधारका लागि तयार गरिएका सुझाव कार्यान्वयन गर्न सके स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजस्व सिर्जनामा समेत सहयोग पुग्ने बताए ।

महासंघको अध्यक्ष हुँदा नेपालको लगानी प्रवद्र्धनसम्बन्धी कानून पुराना र परम्परागत रहेको भन्दै कानून सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र गठन गर्न आफूहरूले प्रस्ताव गरेको उनले स्मरण गरे ।

त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको उनले बताए ।

कतिपय नयाँ कानून निर्माण भए पनि कार्यान्वयनमा जान नसकेको उल्लेख गर्दै ढकालले सरकारले राम्रो कानून बनाएर मात्रै नहुने, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए ।

उनले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरिएको सय बुँदे निर्णयमध्ये अधिकांश निर्णय निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भए पनि अझै धेरै निर्णय कार्यान्वयन हुन नसकेको बताए ।

‘अहिले पनि कतिपय राम्रा कानून छन् । तर कानुनको स्पिरिट र सरकार तथा आम नागरिकको अपेक्षाअनुसार त्यसको कार्यान्वयन भइरहेको छैन,’ उनले भने, ‘अब आवश्यक कानूनी सुधार अध्यादेशमार्फत भए पनि जतिसक्दो छिटो अघि बढाउनुपर्छ ।’

ढकालले नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने विषयमा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

स्वदेशी लगानीकर्ताले गर्ने लगानी र उनीहरूले दिने सन्देशले विदेशी लगानीकर्तालाई समेत प्रभावित गर्ने उनको भनाइ छ । विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुअघि यहाँका स्वदेशी लगानीकर्ताले के गरिरहेका छन् र उनीहरूले कस्तो सन्देश दिइरहेका छन् भन्ने विषयलाई समेत हेर्ने उनले बताए ।

हालै प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीसँगको भेटमा पनि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधारबारे आफूले सुझाव दिएको बताउँदै ढकालले अब सुझावलाई कार्यान्वयनमा लैजाने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?