अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने

लोकपथ
7
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनी गएराति अमेरिका पुगेका हुन् ।

वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक राजदूत शरदराज आरनसहित नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा नेपाल र अमेरिकाबीचको आर्थिक सहयोग, द्विपक्षीय सहकार्य, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता जुटाउने विषयमा पनि छलफल हुनेछ ।

अर्थमन्त्री वाग्लेले सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा लगानी बढाएर नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयमा विकास साझेदार र निजी क्षेत्रसँग छलफल गर्नेछन् ।

भ्रमणका क्रममा उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?