रूपन्देही । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको सुनजडित गरगहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलको साथबाट गरगहना बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई शङ्का लागेर जाँच गर्ने क्रममा विभिन्न प्रकारका गरगहना फेला पारेको जनाएको छ ।
उनको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना बरामद गरिएको हो ।
बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ । गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएको थियो । परीक्षणबाट गरगहनामा सुनको भाग करिब एक किलो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुन लेपन गरिएको पाइएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित मूल्यका आधारमा उक्त सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
बरामद गरगहना र पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया