दशैँलाई लक्षित गर्दै साल्ट ट्रेडिङको छुट योजना, नुनदेखि चामलसम्म मूल्य घट्यो

लोकपथ
14
Shares

काठमाडौं । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुमा छुटसहित बिक्री सुरु गरेको छ । कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट सरकारी निर्देशनअनुसार तथा आफ्नै तर्फबाट विभिन्न वस्तुको मूल्य घटाएर बिक्री गरिरहेको हो ।

साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । छुटपछि काठमाडौं उपत्यकामा चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, दाल, तेल, चिउरा र मैदामा नेपाल सरकारको निर्देशनअनुसार प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।

सरकारले छुट तोकेका वस्तुका अतिरिक्त कर्पोरेसनले आफ्ना आउटलेटबाट बिक्री हुने अन्य वस्तुमा समेत विगतको भन्दा कम मूल्य कायम गरेको जनाएको छ । चामलमा प्रतिबोरासम्म ५० रुपैयाँ र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिइएको छ ।

कर्पोरेसनले बिक्री गर्ने मसला, बिस्कुटलगायतका वस्तुमा पनि उपलब्ध छुटअनुसार मूल्य घटाइएको झाको भनाइ छ । नेसनल ब्रान्डका बिस्कुटमा उत्पादकबाटै छुट प्राप्त भएकाले सोहीअनुसार उपभोक्तालाई बिक्री भइरहेको उनले बताए ।

‘केही वस्तुमा नेपाल सरकारले नै छुट दिन निर्देशन दिएको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौं,’ झाले भने, ‘सरकारले छुट नतोकेका वस्तुमा पनि कर्पोरेसनको तर्फबाट केही न केही छुट दिएर विगतको भन्दा कम मूल्यमा बिक्री गरिरहेका छौं ।’

चाडपर्वको समयमा उपभोक्तालाई सहज र सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यको बिक्रीलाई निरन्तरता दिइएको कर्पोरेसनले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी मोडलमा सञ्चालित साल्ट ट्रेडिङले हरेक वर्ष दशैंलगायत चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ । हाल कर्पोरेसनले देशभर सयभन्दा बढी स्थानबाट सेवा दिइरहेको झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?