काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)चंकी क्षेत्री एसोसिएसन अफ इन्स्योरेर्स एन्ड रिइन्स्योरेर्स अफ डेभलपिङ कन्ट्रीज (एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जनरल मेम्बरसिप मिटिङबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी एआईआरडीसीको एग्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यसमेत रहनेछन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदान र बीमा क्षेत्रको विकास तथा विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको हो ।
क्षेत्रीको नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व तथा सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एआईआरडीसीको आगामी बोर्ड अफ ट्रस्टिज बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ । त्यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ एआईआरडीसी सम्मेलनको लोकल अर्गनाइजिङ कमिटीको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।
उक्त सम्मेलन सफल बनाउन क्षेत्रीको नेतृत्वमा नेपाल तथा एआईआरडीसीका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने जनाइएको छ ।
एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई एआईआरडीसीको सदस्यता लिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
सलिकोले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया