कूटनीतिक नियोगलाई व्यापार र लगानी प्रवर्द्धनको केन्द्र बनाउनुपर्छ : कमलेशकुमार अग्रवाल

लोकपथ
21
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगलाई प्रशासनिक र राजनीतिक काममा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल चेम्बरको जमलस्थित सचिवालयमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सका विद्यार्थीहरूसँग भएको अन्तरक्रियामा अग्रवालले नेपालको आर्थिक हितका लागि कूटनीतिक संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

उनका अनुसार नेपालको आर्थिक कूटनीतिको मुख्य प्राथमिकता निर्यात बढाउने, विदेशी लगानी भित्र्याउने, उद्योग विस्तार गर्ने र नयाँ अन्तर्राष्ट्रिय बजार खोज्ने हुनुपर्छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित देशका लगानीकर्ता, व्यवसायी तथा व्यापारिक समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने उनले बताए ।

अग्रवालले आर्थिक कूटनीतिलाई व्यापार, लगानी र पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने बताए। डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय बजारसँग जोडिनुका साथै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकासमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

उनले अहिले नेपालको मुख्य आवश्यकता आर्थिक शक्ति सुदृढ गर्नु रहेको बताए। आर्थिक रूपमा बलियो भएपछि अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितका विषय प्रभावकारी रूपमा उठाउन सकिने भन्दै उत्पादन, व्यापार, लगानी र निर्यात क्षमता बढाउनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघ महासभा सम्बोधन र अन्तर्राष्ट्रिय भ्रमणलाई पनि उनले आर्थिक कूटनीतिको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आर्थिक सम्भावना र आवश्यकता प्रस्तुत गर्नु तथा विभिन्न मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गर्नु आर्थिक कूटनीतिको हिस्सा भएको उनले बताए ।

नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि आउन सक्ने चुनौती व्यवस्थापनका लागि नयाँ बजार र व्यापारिक साझेदार खोज्नुपर्ने अग्रवालले बताए। उनका अनुसार नेपालको कुल वैदेशिक व्यापारमा भारतको हिस्सा करिब ६५ प्रतिशत र चीनको करिब १५ प्रतिशत छ। यी दुई मुलुकसँगको व्यापार विस्तारसँगै अन्य देशमा पनि नेपाली वस्तुको बजार खोज्नुपर्ने उनले बताए ।

अग्रवालले राजनीतिक तथा लोकतान्त्रिक अधिकार स्थापित भए पनि आर्थिक अवसरमा समान पहुँच अझै कमजोर रहेको बताए। आर्थिक रूपमा सबल नभएसम्म राजनीतिक उपलब्धिलाई दिगो बनाउन कठिन हुने भन्दै उत्पादन, व्यापार, लगानी, रोजगारी र निर्यात विस्तारमा केन्द्रित आर्थिक नीति आवश्यक रहेको बताए ।

उनले विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विदेशमा रहेका नेपालीले कमाएको पूँजीसँगै उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई समेत नेपालको आर्थिक विकासमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप विकास र प्रमाणीकरणमा ध्यान दिनुपर्ने उनले बताए । दक्ष जनशक्ति उत्पादन गर्न सके नेपाली श्रमिकको आम्दानी बढ्नुका साथै अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धात्मक क्षमता पनि बढ्ने उनले बताए ।

नेपाली उद्योगको उत्पादन लागत उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको अग्रवालले बताए । उत्पादन लागत घटाउन विद्युत्, पूर्वाधार, वित्तीय पहुँच, कर र कच्चा पदार्थको लागतमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकारले लक्षित सहुलियत, अनुदान र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने उनले बताए । आयात सहजीकरणसँगै निर्यात विस्तारलाई पनि समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

सरकार, निजी क्षेत्र र कूटनीतिक संयन्त्रबीचको सहकार्यबाट मात्रै आर्थिक कूटनीतिलाई परिणाममुखी बनाउन सकिने अग्रवालले बताए। युवा पुस्ताको सहभागिता, प्रतिस्पर्धी उत्पादन र नयाँ सोचलाई आर्थिक विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो ।

अन्तरक्रियामा विद्यार्थीहरूले अति कम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक कूटनीति, विप्रेषण, वैदेशिक रोजगारी, सीप विकास, निर्यात, लगानी तथा निजी क्षेत्रका चुनौतीबारे अग्रवालसँग प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?