काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन् ।
मंगलबार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी औद्योगिक क्षेत्रका समस्या पहिचान गरेर समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएकी हुन् ।
उनले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन् । यी पूर्वाधार निर्माणसँगै अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध लुम्बिनीको महत्व अझ बढेको उनको भनाइ थियो ।
भण्डारीले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी लुम्बिनीमै पाएको स्मरण गर्दै अहिले वरिष्ठ नेताको रूपमा पनि यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताइन् ।
उनले भनिन्, ‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो । त्यतिबेला हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भनेका थियौँ। आज ती सबै पूरा भएका छन्। यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ र राम्रा सडक पनि बनेका छन् ।’
अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उद्योगी व्यवसायीसँग छलफल गरी औद्योगिक क्षेत्रका समस्या समाधान गर्नुपर्ने उनले बताइन् ।
भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुंगो लाग्न बाँकी रहेको बताइन् ।
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो। वरिष्ठ नेता मनोनित भएपछि उनको यो उपत्यकाबाहिरको पहिलो भ्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया