नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यशालामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले गरेकी थिइन् । उनले बदलिँदो प्रविधिसँगै कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन् ।
कर्मचारीको क्षमता र दक्षता बढाउँदा कम्पनीको व्यवसाय विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक लगानी गर्ने उनले बताइन् ।
कार्यक्रममा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गरेका थिए । उनले ग्राहक नै व्यवसायको मुख्य आधार भएकाले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा दिनुपर्ने बताए ।
उनले कम्पनीका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्न सके ग्राहकको विश्वास अझ बलियो हुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया