काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका सदस्य शहदेव धमलाले बाढीबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार बाढीका कारण बागमती प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेन्टमा क्षति पुगेको छ ।
बाढीका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय क्षतिसमेत भएको उनले बताए । उनका अनुसार पथप्रदर्शक ९गाइड०, पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत १ सय ८८ जनाभन्दा बढीको मृत्यु भएको छ । यस्तै, होटलमा कार्यरत २ सय १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको उनले जानकारी दिए ।
धमलाले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने भन्दै पीडित परिवारको पुनःस्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना आवश्यक रहेको बताए ।
‘मानवीय क्षति कुनै मूल्यसँग तुलना हुँदैन । तर पनि उहाँहरूको परिवारको पुनःस्थापनाका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
बाढीबाट बागमती प्रदेशको पर्यटकीय क्षेत्रमा मात्रै ५२ अर्ब रुपैयाँभन्दा बढीको अनुमानित क्षति भएको उनले बताए । उक्त क्षतिको परिपूरणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।
विपद्पछिको पुनःस्थापना र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
धमलाका अनुसार नेपाल पर्यटन बोर्डले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको छ । विपद्का समयमा तत्काल प्रतिकार्य गर्न सकिने गरी बोर्डले आवश्यक तयारी गरिरहेको उनले बताए ।
यस्तै, बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तथा ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई समेत अघि बढाइरहेको धमलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया