नवलपरासी । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार आइतबार दिउँसो केही समय पुलमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । अहिले मोटरसाइकललाई भने सञ्चालन गर्न दिइएको छ ।
पुल पुरानो भएकाले नदीको बहाव बढेसँगै अत्यधिक हल्लिन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमा र चितवनबाट नवलपुरतर्फ आउने सवारीसाधनलाई नारायणघाटमा रोकिएको छ ।
प्रहरीका अनुसार पुलमा रोकिएर पैदलयात्रीलाई तस्बिर तथा श्रव्यदृश्य सामग्री खिच्नसमेत रोक लगाइएको छ ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो । नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ७ दशमलव ३ मिटरलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ ।
नदीमा पानीको बहाव घटेपछि मात्रै सवारीसाधनलाई पुलबाट पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।
यसैबीच, नारायणी नदीमा पानीको बहाव बढेपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत नदी तटीय क्षेत्रका बस्तीहरूमा डुबान भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया