प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

लोकपथ
14
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताए ।

प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्यांक र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराए ।

स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री शाहले बढ्दो विपद्सँग जुध्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री शाहले एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?