प्रारम्भिक मतदाता नामावली सार्वजनिक, असोज १२ गतेसम्म विवरण सच्याउन सकिने

लोकपथ
56
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन तथा दाबी–विरोध गर्न असोज १२ गतेसम्मको समय दिएको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको छ ।

मतदाता नामावलीमा नाम, थर, जन्ममिति लगायतका विवरणमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

उनका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ । त्यसैले असोज १ गतेदेखि १२ गतेभित्र आफ्नो विवरण हेरी त्रुटि भए समयमै सच्याउन आयोगले आग्रह गरेको छ ।

आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न दुईवटा विधि अपनाएको छ । राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आबद्ध मतदाताले अनलाइन प्रणालीमार्फत आफ्नो तस्बिर तथा बायोमेट्रिक विवरण पेश गर्न सक्छन् ।

राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

असोज १२ गतेसम्मको समय व्यक्तिगत विवरण सच्याउन मात्र नभई मतदाता नामावली शुद्धीकरणका लागि पनि प्रयोग गरिने आयोगले जनाएको छ ।

मतदाता बन्न योग्यता नपुगेका व्यक्ति नामावलीमा समावेश भएको, नागरिकता त्याग गरिसकेको वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भए त्यसविरुद्ध पनि यही अवधिमा उजुरी वा निवेदन दिन सकिनेछ ।

तोकिएको समयभित्र प्राप्त हुने निवेदन तथा दाबी–विरोधमाथि आवश्यक छानबिन गरेपछि आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?