शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका ‘होल्डिङ सेन्टर’ अनुगमन गर्ने

लोकपथ
14
Shares
बाढीपछिको नुवाकोटको ढुंगे बजारको अवस्था

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ ।

बुधबार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो । समितिका सभापति ओजश्वी शेरचनका अनुसार पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गरिनेछ ।

संसदीय परम्परा, अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ ।

नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहनेछन् ।

त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहनेछन् ।

काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ ।

सभापति शेरचनले अनुगमनमा थोरैभन्दा थोरै सदस्य सहभागी गराउने गरी टोली गठन गरिएको जानकारी दिए । उनका अनुसार संवेदनशील विषय भएकाले प्राप्त निर्देशन र मितव्ययितालाई समेत ध्यानमा राखेर छुट्टाछुट्टै टोली बनाइएको हो ।

समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने भएको छ । दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने र सम्भव भएसम्म एउटै सदस्यलाई एउटै अनुगमन टोलीमा दोहोर्‍याएर नराख्ने नीति समितिले लिएको सभापति शेरचनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?