काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरेका छन् ।
बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संघसंस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको ओलीको भनाइ छ ।
विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा भइरहेको ढिलाइप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए । ११–१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शीघ्र बनाउन सरकारलाई सुझाव दिए ।
विस्थापित परिवारका सदस्यलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि सरकार संवेदनशील बन्नुपर्ने उनले बताए । बुबा एउटा शिविरमा र छोरी अर्को शिविरमा राखिएको उदाहरण दिँदै ओलीले परिवारका सदस्यलाई सँगै बस्ने तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
राहत तथा उद्धारमा खटिएका स्वयंसेवकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।
राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न पनि ओलीले सरकारलाई सुझाव दिए । प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उनको भनाइ छ ।
ओलीले सेना तथा प्रहरीलाई नियम, कानून र कर्तव्यअनुसार काम गर्न आग्रह गर्दै अनावश्यक तथा अनुचित आदेश पालना नगर्नसमेत सुझाव दिए ।
‘राज्यशक्तिको दुरुपयोग जसरी भइरहेको छ, जसरी गरिरहनुभएको छ, यो कुरा रोक्नुस् । दुरुपयोग हुन नदिनुस्,’ ओलीले भने ।
उनले विपद्को समयमा सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पारे । जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपद्का बेला सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए ।
‘हामी सरकारलाई साथ दिन, सरकारसँग मिलेर काम गर्न तयार छौँ, तर सरकार संलग्न हुन पनि दिइरहेको छैन, यो बहुतै दुःखद् कुरा हो । तर पनि हामी आफ्नो कर्तव्य पूरा गर्नेछौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया