काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् ।
शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन् ।
कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव एवं प्रवक्ता लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार कार्यदलका सबै सदस्यले दुवै प्रतिवेदन प्राप्त गरेका छन् । यसअघि प्रतिवेदन तयार गर्ने जिम्मेवारी महासचिव पोखरेललाई दिइएको भए पनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष थापाले छुट्टै सुझाव तथा दस्तावेज पेस गरेका हुन् ।
दुवै प्रतिवेदनमा समेटिएका विषयवस्तु अध्ययन गरी समान धारणा बनाउने र एउटै प्रतिवेदन सचिवालयमा लैजाने निर्णय भएको भट्टले बताए । त्यसका लागि कार्यदलको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । आइतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्नेछ ।
भट्टका अनुसार दुईवटा प्रतिवेदन पेस भए पनि पार्टीभित्र ठूलो विवाद भने छैन । केही विषयमा बुझाइ फरक भएकाले छुट्टाछुट्टै दस्तावेज आएको उनले बताए ।
विशेषगरी ‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने वा समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्ने विषयमा दुई नेताबीच केही फरक धारणा देखिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया