‘बेहुली’को ट्रेलरले रच्दै इतिहास २४ घण्टामै १० लाख भ्युज पार, आक्रामक ओपनिङको संकेत

लोकपथ
35
Shares

काठमाडौं । भदौ २६ गतेबाट सिनेमाघरहरूमा प्रदर्शनको पर्खाइमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ ।

आइतबार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । ट्रेलर सार्वजनिक भएको जम्मा २४ घण्टाभित्रै १ मिलियन (१० लाख) भन्दा धेरै भ्युज प्राप्त गर्दै यसले दर्शकको मुटुमा राज गर्न सफल भएको छ ।

दर्शकहरूबाट प्राप्त यो अपार माया र अत्यधिक सकारात्मक प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा व्यापक र आक्रामक ओपनिङ गर्ने बलियो सङ्केत दिएको छ ।

१८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) कब्जा गरेको ‘बेहुली’को जादु स्वदेशमा मात्र सीमित रहेन । नेपाली दर्शकहरूको बाक्लो उपस्थिति रहेका खाडी मुलुकदेखि युरोपसम्म यसले आफ्नो बलियो प्रभाव छाड्दै विश्वका दर्जन बढी देशहरूको ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेको थियो । यो चलचित्रको ट्रेलरले कुवेत, कतार, रोमानिया, साउदी अरब, पोर्चुगल, मलेसिया, दक्षिण कोरिया, जापान, युएईमा, अस्ट्रेलिया लगायतमा मुलुकमा ट्रेन्डिङमा पुगी आफ्नो सफलताको झन्डा गाड्न सफल भएको छ ।

ट्रेलरमा माया, पारिवारिक सम्बन्ध र मित्रताका विविध आयामहरूलाई निकै सुन्दर र कलात्मक ढङ्गले उनिएको छ । विशेष गरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।

यसका अलावा अभिनेता सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले ट्रेलरलाई कौतुहलताको शिखरमा पुर्‍याएको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यस चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?