काठमाडौं । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बन्दै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।
पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक खुलासा गर्न पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ । यसबाट बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन र दिगो वित्तसम्बन्धी अभ्यास थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
न्यून–कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता विकास गर्ने जनाएको छ । प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी रणनीति निर्माणमा प्रयोग गर्ने बैंकको लक्ष्य छ ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासाका लागि साझा ढाँचा उपलब्ध गराउँछ । पीसीएएफका अनुसार विश्वभर ७०० भन्दा बढी वित्तीय संस्था यस पहलमा आबद्ध भइसकेका छन् ।
कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए ।
‘हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य र जानकारीमा आधारित निर्णय लिन सहयोग पुग्नेछ,’ उनले भने ।
बैंकले दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ । साथै, नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ ।
देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनलमार्फत सेवा दिँदै आएको बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ ।
पीसीएएफ सन् २०१९ सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो । पीसीएएफमा सहभागी वित्तीय संस्थाहरूले वित्तीय क्षेत्रका लागि ग्लोबल जीएचजी अकाउन्टिङ एन्ड रिपोर्टिङ स्ट्यान्डर्ड विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा खुलासा गर्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया