काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिएका छन् ।
उनले व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताए ।
उनले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकोले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
मूल्यको तुलना गर्दै साहले भने, ‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ । तर करिव २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ? पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन, मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो । यो हामी सबैको साझा दायित्व हो ।’
उनले बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिएको भएपनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया