त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परी हराइरहेका व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि डीएनए नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने अवस्था थियो । प्रभावित परिवारलाई सहज बनाउन विदुरमै नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा.दामोदर पौडेलले बताए ।
बाढीपछि फेला परेका केही शवको पहिचान हुन नसकेकाले हराइरहेका व्यक्तिका परिवारका सदस्यबाट डीएनए नमुना संकलन गरिएको हो । संकलन गरिएको नमुना शवबाट निकालिएको डीएनएसँग तुलना गरेर मृतकको पहिचान गरिने प्रहरीले जनाएको छ ।
डीएनए परीक्षणका लागि बुबा, आमा, दाजुभाइ, दिदीबहिनी वा छोराछोरीमध्ये एक जनाको नमुना लिन सकिनेछ । तर मृतकसँग सबैभन्दा नजिकको रगतको सम्बन्ध भएका बुबा, आमा, छोरा वा छोरीको नमुना बढी उपयोगी हुने प्रहरीले जनाएको छ ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि नुवाकोटमा हराइरहेको भन्दै २ हजार ५६४ वटा निवेदन परेको प्रहरीले जनाएको छ । हालसम्म १९२ शव फेला परेका छन् भने १८ जनाको मात्र सनाखत भएको छ ।
हालसम्म २ हजार २७२ जनाको डीएनए नमुना संकलन गरिएको छ । त्यसमध्ये १ हजार २६० मृतकको र १ हजार १२ जना मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ ।
डीएनए परीक्षणबाट पहिचान भएका शव परिवारलाई बुझाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया