ग्यासको मूल्यवृद्धिले उपभोक्तामाथि थपियो ११ करोड ५९ लाख भार

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र चुनौतीसम्बन्धी कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि ठूलो आर्थिक भार परेको बताए ।

उनले बाढीपीडितका लागि निगमले २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको उल्लेख गर्दै मूल्यवृद्धिका कारण काठमाडौं उपत्यकाका उपभोक्तामाथि मात्रै एक महिनामा ११ करोड ५९ लाख १८ हजार रुपैयाँ अतिरिक्त भार परेको बताए ।

कार्कीका अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढ्दा उपभोक्तामाथि ठूलो आर्थिक बोझ थपिएको छ । उनले भने, ‘२५ लाखको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ?

ग्यास हरेक वर्गका नागरिकको दैनिक आवश्यकतासँग जोडिएको भन्दै उनले मूल्यवृद्धिको प्रत्यक्ष असर विपन्नदेखि मध्यम वर्गसम्म परेको बताए ।

सरकार र सरोकारवाला निकायको ध्यान काठमाडौं उपत्यकामा मात्रै केन्द्रित भएको भन्दै सांसद कार्कीले उपत्यका बाहिरका नागरिकका समस्या पनि सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा समग्र बजारमा महँगी बढ्ने र त्यसको असर आम नागरिकको जीवनस्तरमा पर्ने भन्दै उनले मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?