काठमाडौं । थाइल्यान्ड सरकारले नेपालका बाढीपीडितको सहयोगार्थ नगद ७० लाख थाई भाट अर्थात् करिब ३ करोड २० लाख रुपैयाँ सहयोग गरेको छ ।
थाइल्यान्डका प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री अनुतिन चानविराकुलले नेपालका लागि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । सहयोगसँगै थाइल्यान्डले आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएको छ ।
सहयोग ग्रहण गर्दै राजदूत ओलीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरे । उनले थाइल्यान्डको सहयोगले दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, ऐक्यबद्धता र घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताए ।
थाइल्यान्ड सरकारले उपलब्ध गराएको नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । राहत सामग्री भने यथाशीघ्र नेपाल पठाइने बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री चानविराकुलले नेपालको आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया