बाढी प्रभावित १५ स्थानीय तहमा सरकारले पठायो साढे १३ करोड

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ ।

सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १–१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो ।

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ ।

धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको छ ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?