लेख्दैछु म रसुवा-नुवाकोटको वास्तविक कथा…

यो लेखिरहँदा कता–कता लागिरहेको छ, यसपछि आउने प्रतिक्रियाको बाढी पनि सहजै अनुमान गर्न सक्छु । कसैले राजनीतिक चस्माले हेर्नुहोला, कसैले प्रश्न गर्नुहोला, कसैले आरोप लगाउनुहोला । सायद गाली पनि आउला । तर एकछिन ती सबैभन्दा पर बसेर यो वास्तविक कथा पढिदिनुस् । किनकि यो कुनै दलको पक्ष वा विपक्षमा लेखिएको राजनीतिक टिप्पणी होइन । यो मैले आफ्नै आँखाले देखेको, आफ्नै कानले सुनेको र मनले महसुस गरेको रसुवा र नुवाकोटको कथा हो ।

म जन्मेको भूगोल नुवाकोट हो । छिमेकी जिल्ला रसुवा । त्यसैले भोटेकोशीमा आएको त्यो बाढी मेरा लागि अरू कुनै ठाउँको समाचार जस्तो मात्र थिएन । आफ्नै भूगोलमा आएको महाविपत्तिले मन सुरुदेखि नै अशान्त थियो । बाढी भनौँ वा भोटेकोशीको त्यो उग्र रूप, ‘हिमाली सुनामी’ भन्दा अतिशयोक्ति नहोला । हिमालबाट आएको त्यो वेग रसुवामा मात्रै रोकिएन । भोटेकोशी त्रिशूलीमा मिसिएपछि पनि त्यसको उग्रता कम भएन ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै चितवन पुगेको त्रिशूलीले बाटोभरि गरेको कटान र पुर्‍याएको मानवीय तथा भौतिक क्षति देख्दा मनमा एउटै कुरा आउँथ्यो, यस्तो विपत्ति यसअघि कहिल्यै देखेको थिइन्ँ ।

पेशा र व्यवसायले सञ्चारकर्मी हुँ । विपद्का समाचार लेख्नु, सूचना खोज्नु, घटनास्थल पुग्नु र मानिसका आवाज बाहिर ल्याउनु मेरो काम हो । तर यसपटकको विपत्तिले स्वंमलाई पत्रकार, आफ्नो पत्रकारिताको दायरा भन्दा एउटा असल नागरिक भएर सोच्नुपर्ने बनाइदियो ।

दिनभर फोन बजिरहे । चिनेजानेका, आफन्त र साथीभाइका सयौँ फोन तथा सन्देश आए । ‘फलानो मान्छे सम्पर्कमा छैन, केही बुझिदिनुस् न ।’ ‘उहाँको अवस्था के छ, थाहा पाउन सकिन्छ ?’ यस्तै आग्रहहरू आइरहे । कतिपय सम्पर्कविहीन मानिससँग मेरो पनि कुनै न कुनै चिनजान थियो । समाचार लेख्नेभन्दा उनीहरूका परिवारसँग समन्वय गर्ने काममै त्यो दिन बित्यो ।

बाढीपछिको नुवाकोटको ढुंगे बजारको अवस्था

साँझ परेपछि उद्धार गरेर ल्याइएका घाइतेहरूको अवस्था बुझ्न साथी सरोज र मनिषसँग त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेँ । उद्धार भएर आएका धेरैजसो बिरामी आईसीयूमा थिए । केही सामान्य शय्यामा उपचाररत थिए । अस्पतालबाहिर नागरिक सहायता कक्षसमेत राखिएको देख्दा राज्यका केही संयन्त्र विपद्को बीचमा सक्रिय रहेको अनुभूति भयो । त्यहाँ देखिएको प्रयासले मनमा केही आशा पनि जगायो ।

तर रातभर सामाजिक सञ्जालमा उद्धार र राहतका दृश्यहरू हेर्दै गर्दा मनले एउटै कुरा भनिरह्यो– एकपटक नुवाकोट र रसुवा त पुग्नैपर्छ ।

भोलिपल्ट बगर बनेको ढुंगे, त्रिशूली बजार नियाल्दै मैथली क्याम्प नियाल्दै देविघाटतर्फ लागेँ । देविघाट पुग्नुअघि नेपाली सेनाको मैथली क्याम्पबाहिर देखिएको दृश्यले मन चिसो बनायो । काँडेतारको घेराबाहिर असंख्य परिवार उभिएका थिए । उनीहरू आफ्ना सम्पर्कविहीन आफन्तको खबर पर्खिरहेका थिए । कसैको हातमा फोन थियो । कसैका आँखा बाटोतिर थिए । कसैले केही बोलिरहेका थिएनन् । केवल पर्खिरहेका थिए ।

सायद उनीहरूको मनमा एउटै आशा थियो– कतै मेरा मान्छे पनि उद्धार भएर आइहाल्छन् कि ! त्यो प्रतीक्षा हेर्न निकै गाह्रो थियो ।

क्याम्प छिचोलेर देविघाट पुगेँ । बाल्यकालमा जात्रा लाग्दा जेरी खान र खेलौना किन्न जाने देविघाटको त्यो बजार आँखामा आयो । त्यतिबेला मानिसको भीड हुन्थ्यो । पसलमा चहलपहल हुन्थ्यो । हाँसो हुन्थ्यो । तर यसपटक त्यही ठाउँमा पुग्दा बजार थिएन । बगर थियो । हिजो पसल थिए ।

आज लेदो छ । हिजो घर थिए । आज भग्नावशेष । हिजो मान्छेहरू थिए । आज उनीहरूलाई खोज्ने मान्छे छन् ।

त्यो दृश्यले मनभित्र कताकता बाल्यकालको देविघाट र आजको देविघाटलाई एकैपटक उभ्याइदियो । समय उस्तै थियो । भूगोल उस्तै थियो । तर वास्तविकता अकल्पनीय थियो, कतै सपना जस्तो थियो । त्यहाँ मानिसको जीवन थिएन । केवल बाढीले छोडेको निशाना थियो । टेलिभिजनको स्क्रिनमा देखिने बाढी एउटा दृश्य मात्रै रहेछ, तर त्यसको बीचमा बाँचिरहेका मानिसको पीडा शब्दले बयान गर्न नसकिने रहेछ ।

बाढी गएको दोस्रो दिन नुवाकोटका धेरै ठाउँमा फोन लागिरहेको थिएन । इन्टरनेट पनि चलेको थिएन । काठमाडौं फर्किएपछि मोबाइलमा मिस्डकलको लामो सूची थियो । म्यासेन्जर र ह्वाट्सएपमा सन्देशको ओइरो थियो । कोही नुवाकोटको अवस्था सोधिरहेका थिए । कोही आफ्ना आफन्तको खोजीमा थिए ।

त्यही भीडमा रसुवाबाट एउटा स्थानीयको म्यासेज आयो । ‘सडक छैन । बत्ती छैन । इन्टरनेट छैन । राहत पनि आएको छैन ।’ सानो म्यासेज थियो । तर त्यसले मनमा ठूलो हलचल ल्यायो । भोलिपल्ट साथी मनिषको पहलमा केही साथीहरूसँग समन्वय गर्‍यौँ । खाद्यान्न र आवश्यक केही सामग्री लिएर रसुवा जाने निधो भयो ।

आँखाअगाडि देखिएको पीडा सधैँ शब्दभन्दा बाहिर राख्न नसकिने रहेछ । यही दृश्य र यस्तै खबरहरू सुन्दै जाँदा मनले एउटा प्रश्न गर्‍यो, के यो देशमा सरकार छ ? छ भने, के त्यो सरकार आफ्ना नागरिकसम्म पुगेको छ ? र, त्यो प्रश्न अझ गहिरो भएर आउँछ, यति ठूलो जनमतसहित बनेको सरकार, दुई तिहाइको बलियो सरकार, संसदमा बलियो उपस्थिति भएको सरकार हुँदा पनि एउटा विपदमा नागरिकले राज्य खोज्दै हिँड्नुपर्ने अवस्था किन आयो ?

आइतबार बिहान ९ बजे क्यामेरापर्सन सन्नी श्रेष्ठसहित हामीले काठमाडौं छाड्यौँ । सन्नी आफैं पनि बाढीको चपेटामा परेका थिए । केही निमेषमै बसिरहेको घर र जग्गा बगरमा परिणत भएको पीडा बोकेर पनि उनी क्यामेरा लिएर हामीसँगै हिँडे । आफ्नो पीडाभन्दा माथि उठेर अरूको पीडा देखाउन हिँडेको त्यो यात्रा पनि आफैंमा भावुक बनाउने खालको थियो ।

टोखा, छहरे, बाहुनबेंसी, छाप, लच्याङ, भोर्ले हुँदै कालिकास्थान पुग्न करिब १२ घण्टा लाग्यो । सामान्य अवस्थामा पाँच घण्टाजति लाग्ने बाटो हो । कतै सडक बिग्रिएको थियो । कतै राहत बोकेका गाडी फसेका थिए । पानी परिरहेको थियो । यात्रा कठिन थियो ।

रातको करिब ९ बजे कालिकास्थान पुग्दा रसुवा अँध्यारो थियो । बत्ती थिएन । फोन भने सो क्षेत्रमा चल्न थालेको थियो सडकमा सामान्य चहलपहल थिएन । केही स्थानीयसँग कुरा गर्‍यौँ । उनीहरूको कुरा सुन्दा सुन्दर रसुवा बाहिरबाट मात्रै होइन, भित्रैदेखि बेचैन रहेछ ।

राति अबेरसम्म त्यही पीडा सुन्दै बस्यौँ । भोलिपल्ट बिहान बेत्रावतीतर्फ लाग्यौँ । बेत्रावती पुग्दा शब्द हराए । बाढीले बनाएको बगरमा एउटा नमिठो गन्ध आइरहेको थियो । सुरक्षा निकायका केही टोली र दुई–चार जना स्थानीयबाहेक बजार सुनसान थियो । जहाँ मानिसको चहलपहल हुनुपर्ने हो, त्यहाँ अहिले केवल खोजी र प्रतीक्षा थियो ।

स्थलगत रिपोर्टिङ सकेर स्थानीयसँग कुरा गर्न थाल्यौँ । सबैको कथा फरक थियो । तर पीडा एउटै थियो । कसैलाई फेरि बाढी आउँछ कि भन्ने डर थियो । कसैलाई हराइरहेका आफन्तको चिन्ता थियो । कसैले सनाखत भएको शवको अन्त्येष्टि कसरी गर्ने भन्ने कुरा सुनाइरहेका थिए । कसैले मलामीसमेत नपाएको शवको कुरा गरिरहेका थिए । कोही काजक्रिया कर्मका लागि काठमाडौं पुगेका थिए । कोही बस्ने ठाउँ खोज्दै नुवाकोट वा काठमाडौं पुगेका थिए । कोही हराइरहेका आफन्त खोज्दै चितवनसम्म पुगेका थिए ।

कसैको घर बगेको थियो । कसैको पसल बगेको थियो । कसैको सपना बगेको थियो । र, कतिपयको त पूरा परिवार नै बगेको थियो ।

एकजना स्थानीय दिनभर बगरमा आएर बस्दा रहेछन् । ‘मेरो मान्छे यहीँ कतै छ, खोजिदिनुस्’ भन्दै दिनभर बस्ने । साँझ परेपछि आफन्तको घर जाने । भोलिपल्ट फेरि त्यही बगरमा आउने । यो क्रम कति दिन चल्छ ? हुन त मान्छे हराएको परिवारका लागि दिन र रातको अर्थ नै कहाँ हुन्छ र ! यही क्रममा स्थानीयको सूचनाका आधारमा बाढीले बगाएको एउटा घरमा मानिस हुनसक्ने जानकारी आयो । प्रहरीले जोखिम मोलेर खोजी सुरु गर्‍यो । कष्टकर खोजीपछि एउटै कोठाबाट २४ वटा शव फेला परे ।

एकै घरमा । एउटै कोठा । २४ जनाको शव ! त्यो क्षण मैले एक पत्रकारको रूपमा तथ्य टिप्नुपर्ने थियो । तर मान्छेको रूपमा मन थाम्न गाह्रो भयो । २४ वटा शव भनेको केवल एउटा समाचारका लागि संख्यामात्र होइन, त्यहाँ २४ वटा जीवन मात्र थिएन, हजारौँ सपना, लाखौँ स्मृतीहरु थिए । कसैका बाबुआमा थिए । कसैका सन्तान थिए । कसैका दाजुभाइ थिए । कसैका दिदीबहिनी थिए । देशका भविष्य थिए । एउटा घरमा यति धेरै मृत्युको कल्पना मात्रै गर्दा पनि मन थामिन गाह्रो हुन्छ । कति आमाले आफ्ना छोराछोरी गुमाए होलान्, कति बच्चाले बाबुआमा खोजिरहेका होलान् । कति घरका ढोका आज खुल्ला छन्, तर फर्केर आउने मान्छे छैनन् ।

सञ्चारकर्ममा भावना होइन, तथ्य बोल्नुपर्छ भन्ने सिकेको धेरै वर्ष भयो । तर तथ्य लेख्ने हात पनि मान्छेकै हुन्छ ।

वैकल्पिक मार्गबाट रसुवा छिचोल्ने सडकको अवस्था

आँखाअगाडि देखिएको पीडा सधैँ शब्दभन्दा बाहिर राख्न नसकिने रहेछ । यही दृश्य र यस्तै खबरहरू सुन्दै जाँदा मनले एउटा प्रश्न गर्‍यो, के यो देशमा सरकार छ ? छ भने, के त्यो सरकार आफ्ना नागरिकसम्म पुगेको छ ? र, त्यो प्रश्न अझ गहिरो भएर आउँछ, यति ठूलो जनमतसहित बनेको सरकार, दुई तिहाइको बलियो सरकार, संसदमा बलियो उपस्थिति भएको सरकार हुँदा पनि एउटा विपदमा नागरिकले राज्य खोज्दै हिँड्नुपर्ने अवस्था किन आयो ?

रसुवा रोइरहेको आफ्नै आँखाले देखेपछि थप दुई दिन बस्ने हाम्रो योजना पनि त्यहीँ टुट्यो । काठमाडौं फर्कने निर्णय गर्‍यौँ । तर शरीर काठमाडौं फर्किए पनि मन भने बेत्रावतीको त्यही बगरमै कतै अड्किएको जस्तो लागिरहेको छ ।

स्थानीयहरू टिमुरे, स्याफ्रुबेँसीदेखि बेत्रावतीसम्म अझै खोजी गर्नुपर्ने ठाउँ धेरै रहेको बताइरहेका थिए । सम्पर्कविहीन आफन्तको खोजीमा रहेका परिवारको बेचैनी त्यत्तिकै थियो ।

यहीँबाट राज्यको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ । विपद् रोक्न सरकारसँग शक्ति नहुन सक्छ । बाढीको वेग रोक्न नसकिएला । पहिरो रोक्न नसकिएला । तर विपद्पछि नागरिकलाई खोज्ने, उद्धार गर्ने, राहत पुर्‍याउने र उनीहरूलाई राज्य उनीहरूसँगै छ भन्ने अनुभूति गराउने जिम्मेवारीबाट राज्य पछि हट्न मिल्दैन ।

अझ अहिले हामी दुई तिहाइको बलियो सरकारको कुरा गरिरहेका छौँ । दुई तिहाइ भनेको केवल संसद्को अंकगणित होइन । त्यो जनताले दिएको ठूलो विश्वास हो र त्यही विश्वाससँग जोडिएको जिम्मेवारी पनि ।

त्यसैले यो सरकारलाई गाली गर्ने प्रश्न होइन । सरकारलाई सम्झाउने प्रश्न हो—यस्तो बेला नागरिकले सरकारलाई खोजिरहनु नपरोस्, बरु सरकारले नागरिकलाई खोजिरहेको देखियोस् ।

जहाँ सडक छैन, त्यहाँ बाटो खोजियोस् । जहाँ सञ्चार छैन, त्यहाँ सम्पर्कको उपाय निकालियोस् । जहाँ राहत पुगेको छैन, त्यहाँ राहत पुर्‍याइयोस् । जहाँ आफन्त हराएका छन्, त्यहाँ खोजीको गति अझ बढाइयोस् । किनकि संकटको समयमा नागरिकले राज्यको शक्ति महसुस गर्न पाउनुपर्छ ।

तत्कालका लागि कसैले चामल खोजिरहेका छन्, कसैले पानी, कसैले लत्ताकपडा अनि औषधिउपचार । तत्कालका लागि सहयोगी मन र सरकार आफैँले पनि उपलब्ध गराइरहेको राहतले भरथेग गर्ला । तर फर्काउनुपर्नेछ, ती बाँचेकाहरुको दैनिकीलाई सामान्य अवस्थामा ।

विद्यालयहरू हेर्दा झन् मन भारी हुन्छ । पढ्ने उमेरका बालबालिकाले किताब बोकेर विद्यालय जानुपर्ने बेला विद्यालय नै खण्डहर बनेका छन् । कतै भवन छैन, कतै कक्षाकोठा छैन, कतै विद्यालय परिसर नै बाढीले बगाएको छ । कति विद्यार्थी सम्पर्कमा छैनन् । कति अभिभावक सन्तान वियोगमा छटपटिएर बसिरहेका छन् । कति विद्यार्थी आफ्ना अभिभावकसँगै सुरक्षित स्थान खोज्दै हिँडिरहेका छन् ।

हिजोसम्म उनीहरूको चिन्ता परीक्षा थियो । पढाइ थियो । कापी–किताब थियो । आज उनीहरूको परिवारको चिन्ता छ– खाना कहाँबाट ल्याउने ? राति कहाँ सुत्ने ? के लगाउने ? किताब बोक्नुपर्ने ती कलिला हातहरु अहिले राहतको प्रतिक्षामा गुहार मागिरहेका छन् । कुनै आमाको हातमा भान्साको सामान होइन, आफ्नो घरको भग्नावशेष छ । र, यही ठाउँमा सरकारमाथि प्रश्न उठ्छ । उद्धारमा राज्य कति छिटो पुग्यो ? राहत कति छिटो पुग्यो ? सम्पर्कविहीन नागरिकको खोजी कति तीव्र बनाइयो ? सडक अवरुद्ध भएपछि वैकल्पिक व्यवस्था कति प्रभावकारी बनाइयो ? फसेका नागरिकलाई सुरक्षित निकाल्न राज्यले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्‍यो कि गरेन ? यी प्रश्न राजनीतिक होइनन् । यी नागरिकका प्रश्न हुन् ।

बाढीपछि आफ्नो पूरानो अस्तित्व गुमाएको नुवाकोटको देविघाट बजार

सयौँको जीवन माटोभित्रको असंख्य पीडामा गुज्रिरहेको छ । जलविद्युत आयोजनाका टनेलभित्र भएकाहरुको अवस्था सम्झिँदा मन पनि मन भक्कानिएर आउँछ । प्रत्येक सेकेण्ड उनीहरुको जीवनमा के गुज्रिरहेको होला ! हामी बाहिर हुनेहरुलाई अवस्था थाहा छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा पनि । तर एक्कासी महाप्रलयले हुत्ताएर टनेलभित्रको बन्द कोठामा पुर्‍याएकाहरुको छटपटी सम्झिँदा मात्र पनि रिंगाटा लागेर आउँछ । सरकारबाट उद्धारको प्रयास भइरहेका छन् भन्ने कुराले मात्रै पनि आशा दिन्छ, त्यही आशामा मन अडिएको छ । उनीहरू सकुशल बाहिर आऊन्, यही प्रार्थना छ ।

रसुवाको रिपोर्टिङ मेरो लागि नौलो पनि होइन । करिब एक दशकअघि रसुवाको घोर्मु गाउँमा बोक्सीको आरोपमा ५५ वर्षीया तुलु सार्की थिङको हत्या गरिएको घटनाको रिपोर्टिङ गर्न पनि पुगेको थिएँ । त्यसयता विभिन्न प्रसंगमा रसुवा पुगिरहेँ ।

रसुवासँग जोडिएको त्यही भावनात्मक नाताले यसपटक छटपटी र उकुसमुकुसले म र म जस्ता धेरैलाई रसुवा पुर्‍यायो । तर यसपटकको रसुवा फरक थियो, रसुवाको कथा र ब्यथा पनि विल्कुल फरक र अकल्पनीय थियो । पहिले घटनाको तथ्य खोज्थेँ । यसपटक तथ्यसँगै मानिसका आँसु पनि खोज्नुपर्‍यो । पहिले रिपोर्टिङ गरेर फर्किन्थेँ । यसपटक म फर्किएँ, तर मन फर्किएन । काठमाडौं आएपछि फेरि मोबाइलमा उही मिस्डकल छन् । उही सन्देश छन् । उही प्रश्न छन् ।

‘उहाँको अवस्था थाहा भयो ?’ ‘हाम्रो आफन्त भेटिए ?’ ‘रसुवामा राहत पुगेको छ ?’ ‘लौन यति परिवारका लागि तत्काल खाने कुरा चाहियो, केही गर्न सकिन्छ ?’ दैनिक आउने प्रश्न यी हुन्, तर उत्तर कतिपय कामले दिन सकिएको छ, कतिपय राज्यले गर्दै होला भनेर आफैँलाई निरिह महसुस गर्दै उत्तर दिनुपरेको छ ।

पहिला पीडितको कथा सुनौँ । पहिला हराइरहेका मान्छे खोजौँ । पहिला भोकाएकालाई खाना दिऔँ । पहिला घर गुमाएकालाई छानो दिऔँ । पहिला बाढीमा फसेकालाई बचाऔँ । दोषी को हो, हिसाब पछि गरौँला । राजनीति पछि गरौँला । बहस पनि पछि गरौँला । अहिले त केवल मान्छे चाहिएको छ । मान्छे बचाउनुपर्छ ।

मलाई थाहा छ, यो लेखपछि राजनीतिक प्रतिक्रिया आउन सक्छ । कसैले सरकारको बचाउ गर्नुहोला । कसैले आलोचना गर्नुहोला । सत्तापक्षका साथीहरूले पनि प्रश्न उठाउनुहोला । प्रतिपक्ष र अन्य दलका साथीहरूले पनि आफ्ना तर्क राख्नुहोला ।

राख्नुस् ।
प्रश्न गर्नुस् ।
बहस गर्नुस् ।

तर एकपटक त्यो बगरमा उभिएर पनि बहस गरौँ । जहाँ एउटी आमा आफ्नो सन्तानको खबर पर्खिरहेकी छिन् । जहाँ एउटा बाबु दिनभर बगरमा आफ्नो सन्तानको खोजिरहेको छ । जहाँ एउटा बच्चाले आफ्नो विद्यालय होइन, आफ्नो घर खोजिरहेको छ ।

त्यसैले अहिले कसैलाई दोषी घोषणा गर्न हतार नगरौँ । तर राज्यसँग प्रश्न गर्न पनि नडराऔँ । विपद्को धूलो केही समयपछि बस्ला । बाटो फेरि बन्ला । बजार फेरि उठ्ला । विद्यालयमा फेरि घण्टी बज्ला । चुलोमा फेरि आगो बल्नेछ । तर, जो फर्केर आउँदैनन्, उनीहरू कहिल्यै फर्केर आउने छैनन् । त्यसैले अहिले जति सकिन्छ, त्यति छिटो खोजौँ । जति सकिन्छ, त्यति छिटो उद्धार गरौँ । जति सकिन्छ, त्यति छिटो राहत पुर्‍याऔँ । र जसलाई बचाउन सकिन्छ, उसलाई बचाऔँ । मैले यो लेख कसैलाई गाली गर्न लेखेको होइन । कसैलाई बचाउन पनि लेखेको होइन ।

मैले लेखेको हुँ, किनकि म नुवाकोटको मान्छे हुँ । रसुवा मेरो छिमेकी हो । त्यो भूगोलसँग मेरो सम्बन्ध छ । त्यहाँका मानिसको पीडा मेरो पनि पीडा हो । यसकारण पनि मैले लेखेको हुँ, किनकि त्यो पीडा काठमाडौंको आरामदायी कोठाभित्र बसेर केवल एउटा समाचार बनेर सकिनु हुँदैन । मैले लेखेको हुँ, ताकि भोलि इतिहासले सोध्दा हामीसँग एउटा जवाफ होस्– त्यो दिन हामी चुप बसेका थिएनौँ ।

हामीले देखेका थियौँ, हामीले बोलेका थियौँ, हामीले राज्यसँग प्रश्न गरेका थियौँ, र सबैभन्दा महत्वपूर्ण कुरा हामीले मान्छे बचाउने पक्ष रोजेका थियौँ । यो कुनै राजनीतिक निष्कर्ष होइन । यो रसुवामा मैले देखेको पीडा हो । यो नुवाकोटप्रतिको मेरो सम्बन्ध हो । यो एक पत्रकारको आँखाले देखेको दृश्य हो ।

र, अन्त्यमा फेरि त्यही कुरा– एकछिन धैर्य गर्नुस् । पहिला पीडितको कथा सुनौँ । पहिला हराइरहेका मान्छे खोजौँ । पहिला भोकाएकालाई खाना दिऔँ । पहिला घर गुमाएकालाई छानो दिऔँ । पहिला बाढीमा फसेकालाई बचाऔँ । दोषी को हो, हिसाब पछि गरौँला । राजनीति पछि गरौँला । बहस पनि पछि गरौँला । अहिले त केवल मान्छे चाहिएको छ । मान्छे बचाउनुपर्छ ।

किनकि बाढीले सडक र घर मात्रै बगाएको छैन । कसैको बाल्यकाल बगाएको छ । कसैको परिवार बगाएको छ । कसैको सपना बगाएको छ । र कतिपयको पूरा संसार नै बगाएको छ । त्यो संसारको बाँकी टुक्रा जोगाउने जिम्मेवारी अब हाम्रो हो । राज्यको हो । हामी सबैको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?