काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई विदेशी प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।
रोयटर्ससँग कुरा गर्दै मन्त्री खनालले सुरुङमा फसेका मानिसको उद्धार, भत्किएका पुलका कारण रोकिएको यातायात तथा सञ्चार सेवा सञ्चालन, शव पहिचान र शव सुरक्षित राख्न विदेशी सहयोग आवश्यक रहेको बताए ।
बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि ठूलो बाढी आएको थियो । बाढीमा ढुंगा, बरफ, हिलो र माटो बगेर नेपाल र चीनको तिब्बत क्षेत्रमा पुगेको थियो । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने धेरै मानिस अझै सम्पर्कविहीन छन् ।
भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलङ्का र बङ्गलादेशले खोज तथा उद्धार टोली पठाउन अनुमति मागेका छन् । तर, सामान्य खोज तथा उद्धारका लागि अहिले विदेशी टोली आवश्यक नरहेको सरकारले जनाएको छ ।
मन्त्री खनालका अनुसार नेपाली उद्धार टोलीले सामान्य खोज तथा उद्धारको काम गरिरहेको छ । त्यसैले विदेशी टोलीले त्यही काम दोहोर्याउन आवश्यक नरहेको उनको भनाइ छ ।
बाढीका कारण केही मानिस जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको हुनसक्ने मन्त्री खनालले बताए । सुरुङभित्र उद्धार गर्ने क्षेत्रमा नेपालको अनुभव र उपकरण सीमित रहेकाले विशेष प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए ।
बाढीले करिब दुई दर्जन पुलमा क्षति पुर्याएको छ । त्यसका कारण यातायात र सञ्चार सेवा प्रभावित भएका छन् । पुल सञ्चालनमा ल्याउन नेपालले भारत र चीनसँग बेली ब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ ।
बाढीमा बगेका केही शव चितवन र नवलपरासी क्षेत्रमा भेटिन थालेका छन् । अझै धेरै शव भेटिन सक्ने भएकाले अस्पतालमा शव राख्ने ठाउँ र रेफ्रिजरेटरको अभाव भएको मन्त्री खनालले बताए ।
बाढीले विद्यालय, अस्पताल, जलविद्युत् आयोजना, सडक र पुललगायतका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । अब उद्धारपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया