काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले आज थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ ।
विपद् प्रतिकार्यका लागि हिजोसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा आज उक्त संख्या बढाएर ४ हजार ८२८ पुर्याइएको छ ।
रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष वेश क्याम्प स्थापना गरी प्रभावित क्षेत्रहरूमा विज्ञसहितका अलग अलग टोली खटाइएका छन् ।
परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूका साथै ुमास क्याजुअल्टी भेहिकलु, शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ र प्राथमिक उपचार विज्ञहरू रहेका छन् । यसका साथै भत्किएका संरचनामा खोज तथा उद्धार (सीएसएसआर) का लागि ४४ जनाको टोली खटाइएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको ‘के९’ टोलीअन्तर्गत ७ कुकुरसहित २१ जनालाई विभिन्न क्षेत्रमा खटाइएको छ । ५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड पनि परिचालन गरिएको छ । डोरीबाट उद्धार गर्नका लागि छुट्टै १३ जना खटाइएका छन् । ठाउँठाउँमा गोताखोर पनि परिचालन गरिएका छन् ।
देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।
भोटेकोशी हुँदै त्रिशुली नदीतटीय भेगमा प्रभावित विभिन्न ४८ वटा वडाहरुमा रहेका सशस्त्र प्रहरी बलले सूचिकृत गरेका १२ सय विपद् सूचकहरु मार्फत सूचना संकलन गरिरहेको छ ।
यसका अतिरिक्त प्रभावित नागरिकहरूको सहयोगका लागि आश्रयस्थलको व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रियतापूर्वक खटिएको छ ।
घटनाको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर स्थापना गरी निरन्तर सेवा दिइरहेको छ । विपद्मा घाइते भएकाहरूको आकस्मिक उपचारका लागि काठमाडौंस्थित नेपाल एपी.एफ. अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००–१०० बेडको विशेष तयारी गरिएको छ ।
यसैगरी, सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीहरू प्रभावित स्थानमा सुरक्षित रूपमा पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया