काठमाडौं । प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौं फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण तथा विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सरकारले ‘समुन्द्रटार रुट’ लाई सुरक्षित विकल्पका रूपमा प्राथमिकता दिएको हो ।
सरकारका अनुसार गोसाईंकुण्डबाट काठमाडौं फर्कनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु, सिसिपु, घ्यामफेदी र समुन्द्रटार हुँदै अगाडि बढ्न सक्नेछन् । हालको अवस्थामा यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको जनाइएको छ ।
प्रतिकूल मौसम र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले तत्कालका लागि गोसाईंकुण्डतर्फ नयाँ यात्रा सुरु नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ । हाल गोसाईंकुण्ड पुगिसकेका तीर्थयात्री तथा पर्यटकलाई मात्र उक्त वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित रूपमा अवतरण गर्न आग्रह गरिएको छ ।
आगामी केही दिनको मौसम तथा सम्भावित जोखिमको पूर्ण पूर्वानुमान गर्न कठिन भए पनि हालसम्मको अवस्थाका आधारमा समुन्द्रटार रुटलाई सुरक्षित मानिएको र यही मार्गलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया