काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे २ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १र१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत, उद्धार तथा खोजी कार्यमा प्रयोग गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ बाढी आएको हो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको उनले बताए ।
बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको छ । रसुवाको टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक जानकारी आएको उप्रेतीले बताए ।
घटनालगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।
उनले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै तीनवटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम पठाउने निर्णय गरिएको बताए । उनका अनुसार रसुवा र नुवाकोटलाई १र१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
बाढीको जोखिम न्यूनीकरणका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको उप्रेतीले बताए । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत सतर्कता सूचना पठाइएको उनले जानकारी दिए ।
बाढीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यकताअनुसार प्रत्येक आधा घण्टामा अलर्ट जारी गर्ने व्यवस्था गरिएको पनि उनले बताए ।
उप्रेतीका अनुसार बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ । मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा बाढीको प्रभाव पर्नसक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ ।
बाढीका कारण जल तथा मौसम विज्ञान विभागको एउटा स्टेशनसमेत बगेको उनले जानकारी दिए । माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक सूचना प्राप्त भएको भन्दै उनले तिब्बततर्फको अस्थायी बाँध कमजोर भएर फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया