काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
टेक स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रका उद्यमीसँगको विशेष छलफलमा उनले आईटी क्षेत्रमा रहेका नीतिगत तथा कानुनी अवरोध हटाउँदै नेपाली जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
भूपरिवेष्ठित राष्ट्र भएकाले नेपालको विकासका लागि भौगोलिक दूरी र तौलको प्रभाव नपर्ने ‘डिस्टेन्सलेस र वेटलेस’ अर्थतन्त्र उपयुक्त हुने उनको भनाइ थियो । त्यसका लागि सेवा निर्यातमा जोड दिनुपर्ने उनले बताए ।
उनका अनुसार सन् २०२२ मा सार्वजनिक भएको आईआईडीएसको अध्ययनले नेपालबाट वार्षिक करिब ६० करोड अमेरिकी डलर बराबरको सफ्टवेयर तथा आईटी सेवा निर्यात भइरहेको देखाएको छ । त्यस्तै, ६६ हजारभन्दा बढी फ्रिलान्सर सक्रिय रहेको र १०२ भन्दा बढी आईटी कम्पनी सञ्चालनमा रहेको तथ्यांक उनले प्रस्तुत गरे ।
परम्परागत निर्यातजन्य वस्तु पश्मिना, कार्पेट तथा कृषि उपजको तुलनामा कम सरकारी लगानीमै आईटी क्षेत्रले छोटो समयमा गरेको प्रगति उत्साहजनक रहेको उनले बताए ।
अर्थमन्त्री वाग्लेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावसँगै परम्परागत आउटसोर्सिङ र सामान्य कोडिङको सान्दर्भिकता घट्दै गएको बताए । अब नेपालले एआई, डाटा सेन्टर र कम्प्युट पावरमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
विश्वका ठूला प्रविधि कम्पनीहरूले नेपालमा लगानी गर्न इच्छा देखाएको भन्दै उनले जलविद्युतमा अपनाइएको ‘फ्री इनर्जी’ मोडलजस्तै कम्प्युट पावरमा पनि नेपालले स्वामित्व लिन सक्ने सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए ।
उनले नेपाली युवाले नेपालमै बसेर विश्वस्तरीय काम गर्न सक्ने वातावरण बनाउन सरकार तयार रहेको बताए। यसका लागि कर प्रणाली, नियामक संयन्त्र र इजाजत प्रक्रियालाई सहज बनाउने सरकारको नीति रहेको उनको भनाइ छ ।
लगानी बोर्डमा नयाँ नेतृत्व आएसँगै वैदेशिक लगानी र प्रविधि भित्र्याउँदा देखिएका प्रक्रियागत झन्झट हटाउने काम भइरहेको पनि उनले बताए । बजेट कार्यान्वयनको फलोअपका रूपमा आईटी क्षेत्रका लागि ‘इन्टरिम प्याकेज’ ल्याउने तयारी रहेको भन्दै उनले तत्काल सम्बोधन गर्नुपर्ने विषयबारे उद्यमीहरूसँग सुझाव मागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया