काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
विभागले करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउनुका साथै राजस्व परिचालनमा हुन सक्ने अनियमितता रोक्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा कुनै त्रुटि भएमा सात दिनभित्र आफैंले संशोधन गर्न सक्नेछन् ।
यसअघि भ्याट विवरण भर्दा सामान्य अंकगत त्रुटि भए पनि सच्याउन कर कार्यालय नै पुग्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थापछि करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्नेछन् ।
महानिर्देशक भुसालले पुरानो प्रणालीमा विवरण प्रविष्ट भइसकेपछि त्यसलाई सच्याउन कठिन हुने गरेको बताए । उनका अनुसार नयाँ व्यवस्थाले कर कार्यालयमा हुने भीडभाड घटाउनुका साथै करदाताको समय र खर्चसमेत बचत गर्नेछ ।
विभागले विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई पनि थप व्यवस्थित र समयबद्ध बनाएको छ । हालको कानुनअनुसार प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गर्नुपर्ने व्यवस्था छ । तर, कतिपय निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गरेर अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको विभागको भनाइ छ ।
अब कर कट्टी भएको रकम तोकिएको समयमै प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । अर्को महिनाको २५ गतेसम्म पनि कर कट्टी भएको रकम प्रणालीमा नदेखिए सम्बन्धित करदाताले रकम कहाँ र कसले होल्ड गरेको हो भन्नेबारे प्रश्न गर्न सक्ने व्यवस्था गरिएको भुसालले बताए ।
उनका अनुसार विगतमा कतिपय अवस्थामा करको दायित्व कम देखाउन ‘ब्याक डेट’ मा विवरण प्रविष्ट गर्ने जस्ता हेरफेरसमेत हुने गरेका थिए । नयाँ प्रणाली अनिवार्य र समयबद्ध बनाइएकाले यस्तो प्रवृत्तिमा नियन्त्रण आउने विभागको विश्वास छ ।
विभागका अनुसार नयाँ व्यवस्थाले राज्यको कोषमा समयमै राजस्व जम्मा हुने सुनिश्चित गर्नुका साथै करदाताले आफ्नो कर कट्टीको प्रमाणका लागि भौचर बोकेर कार्यालय धाउनुपर्ने अवस्थासमेत अन्त्य गर्नेछ ।
महानिर्देशक भुसालले विभागले अघि बढाएका यस्ता कानुनी तथा प्राविधिक सुधारले कर प्रशासनलाई थप पारदर्शी, व्यवस्थित र सुशासनयुक्त बनाउन सहयोग पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया