काठमाडौं । आज मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ ।
संसद् सचिवालयले सूचना जारी गरी विशेष कारण प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको हो । अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।
आज अपराह्न १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो ।
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया