गरिब, निमुखा र कमजोर वर्गको अधिकारका लागि आन्दोलन जारी राख्छौँ : सन्तोष परियार

लोकपथ
0
Shares
फाइल तस्बिर


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको राज्य व्यवस्था र बजेटले गरिब जनताको हित गर्न नसकेको बताए।

परियारले वर्तमान बजेट वामपन्थी विचारअनुसार नभएको र यसले आम नागरिकमा आशा जगाउन नसकेको बताए । आफ्नो पार्टीको राजनीति र आन्दोलन गरिब, निमुखा तथा कमजोर वर्गको अधिकारका लागि केन्द्रित हुने उनको भनाइ छ ।

राज्य नागरिकको सुरक्षा र संरक्षणका लागि बनेको बताउँदै उनले महिला तथा गरिबको संरक्षण गर्न नसक्ने राज्यसँग सम्झौता गरेर बस्न नसकिने बताए ।

सामाजिक करारको सिद्धान्तअनुसार राज्य नागरिकको संरक्षणका लागि बनेको उल्लेख गर्दै परियारले राज्यले नागरिकको सुरक्षा गर्न नसके त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने बताए ।

उनले न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए । युवाहरूलाई राजनीतिक रूपमा सचेत र वैचारिक रूपमा सक्षम बनाउन प्रशिक्षण आवश्यक रहेको भन्दै उनले समतामूलक समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?