झलनाथ खनालको आरोप– ‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा उदाएको आरोप लगाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले अहिलेको सत्ता रास्वपाको हातमा रहेको र उसले जनविरोधी नीति अघि बढाइरहेको आरोप लगाए ।

२०६२र६३ को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेको उल्लेख गर्दै खनालले अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको दाबी गरे । संसदीय व्यवस्थामा ‘मुख्य शत्रु’ भन्दा ‘मुख्य प्रतिद्वन्द्वी’ भन्नुपर्ने भन्दै उनले रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताए ।

उनले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेटले आम जनता र तल्लो वर्गको हित नगरेको आरोप लगाए । सरकारका आर्थिक नीति माथिल्लो वर्गको हितमा केन्द्रित रहेको र जनतामाथि करको भार थपिएको उनको भनाइ थियो ।

‘अहिले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ,’ खनालले भने, ‘उसले व्यापक दमन–मर्दन सुरु गरेको छ । उसले जुन नीति, कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन ।’

खनालले वर्तमान सरकारका नीतिका कारण सुकुम्बासी, विद्यार्थी, मजदुर तथा पत्रकारसमेत समस्यामा परेको दाबी गरे । उनले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने आरोप पनि लगाए ।

पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजयलाई सामान्य हारका रूपमा लिन नहुने खनालको भनाइ थियो । कम्युनिस्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण लज्जास्पद हार व्यहोर्नुपरेको उनले बताए ।

बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा मात्रै लिनुपर्ने उनको धारणा थियो । कम्युनिस्ट पार्टीसँग विगतमा जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढेको र विदेशिएका श्रमिक तथा असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको उनले बताए ।

खनालले विगतका कमजोरी सच्याएर सबै कम्युनिस्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । नयाँ ढंगबाट समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन सके कम्युनिस्ट शक्तिले पुनः सफलता हासिल गर्न सक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?