विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

लोकपथ
0
Shares

काठमाडौं । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

संघीय सरकारले प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गरेको हो ।

पारिश्रमिक वृद्धि भएसँगै ईसीडी सहजकर्ताले मासिक १७ हजार, विद्यालय सहयोगीले १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीले २० हजार रुपैयाँ पाउने भएका छन् । यसअघि उनीहरूले क्रमशः १२ हजार, १० हजार र १५ हजार रुपैयाँ पाउँदै आएका थिए ।

परिषद्ले पारिश्रमिक वृद्धि सकारात्मक भए पनि विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्तिविकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत मागसमेत सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?