हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।
थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुख देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
तर, थापालाई मुख्यमन्त्री बनाउन राप्रपाले दिएको समर्थनलाई लिएर पार्टीभित्र विवाद देखिएको छ । राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।
राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको भन्दै बुधबार नै प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो । पार्टी केन्द्रको निर्णयबिना प्रदेश संसदीय दलले गरेको समर्थन आधिकारिक नभएको राप्रपाले जनाएको छ ।
यद्यपि, प्रदेश प्रमुखको कार्यालयले बिहीबार थापाको मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको छ ।
किरण थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया