मोबाइलको कभर र सिसा फेर्दा पर्‍यो प्रहरीका सईलाई १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार 

लोकपथ
609
Shares

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् । 

आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन् । 

उनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) पदमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत छन् ।

अर्थ मन्त्रालयसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए ।

‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत छु । मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेकट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले भने, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’ 

उनले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?