काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराका तीन संस्थालाई सहयोग गरेको छ ।
बैंकले सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की र नेपाल–भारत मैत्री पुस्तकालय कास्कीलाई सहयोग गरेको हो ।
फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उपकरण सुरक्षित राख्न सशस्त्र प्रहरी बललाई रूफटप निर्माणका लागि बैंकले सहयोग गरेको छ । त्यस्तै, रक्तसञ्चार सेवा थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी कास्कीलाई पोर्टेबल ब्लड ब्याग ट्युब सीलर प्रदान गरिएको छ ।
नेपाल–भारत मैत्री पुस्तकालय कास्कीलाई भने भौतिक पूर्वाधार विस्तार तथा पुस्तक र पत्रपत्रिका खरिदका लागि सहयोग गरिएको बैंकले जनाएको छ ।
पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु र नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले सम्बन्धित संस्थाका प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका थिए ।
बैंकले यस्ता कार्यक्रममार्फत सार्वजनिक सुरक्षा, स्वास्थ्य, शिक्षा र सामुदायिक विकासमा निरन्तर योगदान गर्ने जनाएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाई र १२७ एटीएम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया