काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायीलाई व्यवसाय र व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै व्यवसायीलाई आफ्नो व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, ऋण र लगानीको व्यवस्थित हिसाब राख्न सुझाव दिएको हो । बैंकले वित्तीय विवरण र नगद प्रवाहको हिसाब राख्न प्रविधिको प्रयोग गर्न पनि आग्रह गरेको छ ।
व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी र स्रोतको पहिचान गरेर उपयुक्त बैंकिङ तथा वित्तीय सेवा छनोट गर्न राष्ट्र बैंकले भनेको छ। कर्जा लिँदा ब्याज, सेवा शुल्क, शर्त तथा जोखिम बुझेर विभिन्न विकल्पको तुलना गर्न पनि सुझाव दिइएको छ।
व्यवसायमा आउन सक्ने जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगानी गर्न तथा व्यवसाय र सम्पत्तिको बीमा गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । व्यवसायी, कर्मचारी र व्यक्तिगत सुरक्षाका लागि बीमा तथा अवकाश योजनालाई पनि वित्तीय योजनामा समेट्न सुझाव दिइएको छ ।
त्यस्तै, व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित कानुनी प्रक्रिया, कर, अनुमति र दर्ताबारे जानकारी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । देशको आर्थिक, राजनीतिक, सामाजिक, प्रविधि र प्रतिस्पर्धात्मक अवस्थाले व्यवसायमा पार्न सक्ने प्रभावबारे पनि सचेत रहन आग्रह गरिएको छ ।
राष्ट्र बैंकले ग्राहक अधिकार, गुनासो गर्ने निकाय र वित्तीय सेवाबारे जानकारी लिन आधिकारिक तथा विश्वसनीय स्रोत प्रयोग गर्न व्यवसायीलाई सुझाव दिएको छ ।
वित्तीय सेवासम्बन्धी गुनासोका लागि राष्ट्र बैंकको अनलाइन पोर्टल तथा वित्तीय ग्राहक संरक्षण इकाइमा सम्पर्क गर्न सकिने जनाएको छ । ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–५७१९६०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया