काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्नो नाफालाई दोब्बरभन्दा बढीले बढाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफामा आएको उल्लेख्य वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ ।
अघिल्लो वर्ष ३.७८ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर ७.८२ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९२ रुपैयाँबाट बढेर १३१.६० रुपैयाँ कायम भएको छ ।
कम्पनीको व्यवसाय विस्तारतर्फ हेर्दा खुद बीमा शुल्क आर्जनमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा खुद बीमा शुल्क २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको कुल आम्दानी २१.५९ प्रतिशतले बढेर ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ९ अर्ब १९ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
आम्दानी र व्यवसाय बढेसँगै कम्पनीको दाबी भुक्तानी तथा खर्च पनि बढेको छ । अघिल्लो वर्ष ६ अर्ब ९८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिमा २७।६९ प्रतिशतले बढाएर ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
यसैगरी, कम्पनीको कुल खर्च २४.८० प्रतिशतले बढेर १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, खुद नाफामा उल्लेख्य वृद्धि भए पनि सञ्चित मुनाफामा भने दबाब देखिएको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चित मुनाफा ५६।६९ प्रतिशतले घटेर ४९ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो रकम १ अर्ब १५ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
यसरी हेर्दा सिटिजन लाइफको गत आर्थिक वर्षको वित्तीय प्रदर्शनमा नाफा र प्रतिशेयर सूचकमा उल्लेख्य सुधार देखिएको छ भने बीमा शुल्क आर्जन तथा कुल आम्दानीमा समेत वृद्धि भएको छ । तर, दाबी भुक्तानी, कुल खर्च र सञ्चित मुनाफाको अवस्थाले कम्पनीको वित्तीय परिणामलाई अर्को महत्वपूर्ण कोणबाट पनि हेर्नुपर्ने देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया