काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४९ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको हो ।
बैंकको वितरणयोग्य मुनाफा पनि बढेर १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेपछि लाभांश क्षमता ९.१० प्रतिशत कायम भएको छ ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा ९१ करोड रुपैयाँभन्दा बढीले बढेको हो ।
नाफा वृद्धिमा बैंकको सञ्चालन गतिविधिमा आएको सुधारले समेत योगदान गरेको देखिन्छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ३८ करोड २७ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ३.३० प्रतिशतले बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी भने ५.८१ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब २४ करोड ६९ लाख रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार आएको छ । गत असार मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ थियो । यसअनुसार वितरणयोग्य मुनाफा १०।०४ प्रतिशतले बढेको हो ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले वृद्धि कायम गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५.४६ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकसँग २ खर्ब ६३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेको थियो ।
कर्जा प्रवाहमा भने निक्षेपको तुलनामा अझ बढी वृद्धि देखिएको छ । बैंकले समीक्षा अवधिमा २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ खर्ब ९ अर्ब ६ करोड रुपैयाँ रहेको कर्जा प्रवाह ८.३१ प्रतिशतले बढेको हो ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १६.५० रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर १९.६३ रुपैयाँ पुगेको छ ।
तर, बैंकका लागि खराब कर्जाको बढ्दो अनुपात भने चुनौतीका रूपमा देखिएको छ । अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात बढेर ६.६९ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया