प्रभु बैंकको निष्क्रिय कर्जा १५ प्रतिशत नाघ्यो, २४ करोड घाटा

लोकपथ
175
Shares

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बैंक चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा घट्नुको मुख्य कारण खराब कर्जा बढ्नु र त्यसबापत ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउनुपर्नु रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब १९ करोड रुपैयाँ थियो ।

तर, खुद सञ्चालन आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ८ अर्ब १६ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७२ करोड रुपैयाँमा आएको छ । सञ्चालन मुनाफा पनि १ अर्ब ८५ करोडबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ ।

प्रभु बैंकको सबैभन्दा ठूलो चुनौती खराब कर्जामा देखिएको छ । एक वर्षअघि ७.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १५.५५ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढेपछि बैंकले कर्जा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनुपरेको छ । यही कारण ब्याज आम्दानी बढे पनि बैंकलाई नाफामा टिक्न कठिन भएको हो ।

घाटामा गएसँगै बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा ऋणात्मक भएको छ । प्रतिशेयर नेटवर्थ भने १४० रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक रहेको छ । रिटेन्ड अर्निङ पनि ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक छ ।

यद्यपि बैंकको रिजर्भ १२.९८ प्रतिशतले बढेर १५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन बढेको छ । अघिल्लो वर्ष ३ खर्ब ४२ करोड रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

तर कर्जा प्रवाह भने २ खर्ब २५ अर्बबाट घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा आएको छ ।

निक्षेप बढे पनि कर्जा विस्तार घट्दा बैंकको स्रोत परिचालनमा चुनौती देखिएको छ। बैंकले पर्याप्त तरलता, सुस्त कर्जा विस्तार र घट्दो ब्याजदरलाई व्यवसाय विस्तारका प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ ।

बैंक व्यवस्थापनले आगामी आर्थिक वर्षमा खराब कर्जा असुली र नियमितीकरणलाई मुख्य प्राथमिकता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?