काठमाडौं । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।
केही दिनदेखि सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबिच भइरहेको तनावलाई मध्यनजर गरी प्रशासनले मंगलबार राति ९ बजेबाट कर्फ्यू लगाइएको जनाएको छ ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
यस अवधिमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार कर्फ्यू अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
जिप्रका सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया