निर्वाचन  आयोग  राजनीतिको छायाँबाट मुक्त हुनपर्छ : अर्जुननरसिंह केसी

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको प्रभावबाट मुक्त, स्वतन्त्र र शक्तिशाली संवैधानिक निकायका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा धारणा राख्दै सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आयोगको भूमिका निर्णायक हुने बताएका हुन् ।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछि स्वतन्त्र निर्वाचन आयोगलाई लोकतन्त्रको संरक्षण गर्ने महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गर्दै आयोगलाई लोकतन्त्रको ‘छैटौँ अङ्ग’ (सिक्स्थ अर्गान) का रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे । आयोगले स्वतन्त्र रूपमा निर्णय गर्न सके मात्रै जनताको वास्तविक जनादेशको सम्मान हुने र लोकतन्त्र बलियो बन्ने उनको भनाइ थियो ।

केसीले छिमेकी भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको उदाहरण दिँदै नेपालका निर्वाचन आयुक्तहरूले पनि त्यस्तै साहसिक, निष्पक्ष र दृढ भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाउँदै उनले नेपालमा भागबण्डाका आधारमा नियुक्ति हुने प्रवृत्ति रहेको टिप्पणी गरे । बेलायतमा जस्तै सर्वदलीय समितिमार्फत स्वतन्त्र र योग्य व्यक्तिको छनोट गर्ने प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

उनले नेपालको संवैधानिक संस्थाहरू अहिले पनि सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको दाबी गर्दै संस्था व्यक्ति होइन, मूल्य–मान्यता र विधिबाट चल्नुपर्ने बताए । निर्वाचनको प्राविधिक पक्ष सुधारसँगै आयोगलाई थप स्वतन्त्र, सक्षम र प्रभावकारी बनाउने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद केसीले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि संवैधानिक निकायलाई त्रसित वा दबाबमा राख्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उल्लेख गर्दै आयोगले सरकारको छायाँ बनेर होइन, स्वतन्त्र संस्थाका रूपमा काम गर्नुपर्ने बताए ।

उनले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोग गम्भीर बन्नुपर्ने पनि बताए । विगतमा विभिन्न सरकार र राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनअघि यस विषयमा ठोस व्यवस्था गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?