एआईबाट चन्द्र ढकालको नक्कली भिडियो बनाएर ठगी, साइबर ब्यूरोमा उजुरी

लोकपथ
28
Shares

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एआई मार्फत् आफ्नो अन्तर्वार्ताको भिडियो बनाइ अफवाह फैलाइएको भन्दै कानुनी उपचार खोज्ने भएका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी ढकालको अनुहार जस्तै देखिने गरी कृतिम बौद्धिकता (एआई) प्रयोग गरी लगानीबारे प्रचार गरिएको थियो ।

उक्त भिडियो सामग्रीमा निश्चित रकम लगानी गरी साप्ताहिक रुपमा ठूलो आम्दानी गर्न सकिने भन्दै झुठा र भ्रामक प्रचार सामग्री सामाजिक सञ्जालमा फैलाइएको थियो ।

उनले उक्त सामग्री तयार गरी प्रशारण गरी सर्वसाधारणलाई ठगी गर्ने व्यक्तिमाथि कानुनी कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।

‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ,’ उनले भनेका छन्,

‘यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।’

यस्ता किसिमका भ्रामक भिडियो वा विज्ञापनको विश्वास नगर्न समेत उनले आग्रह गरेका छन् । साथै विभिन्न जानकारीका लागि अपाm्नो आधिकारिकत फेसबुक पेज र सम्बन्धित संस्थाबाट जानकारी लिन समेत आग्रह गरेका छन् ।

‘यस्ता भ्रामक भिडियो वा विज्ञापनको विश्वास नगरिदिनुहुन, सही र आधिकारिक जानकारीका लागि मेरो आधिकारिक फेसबुक पेज एवं सम्बन्धित संस्थाका आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई मात्र विश्वास गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
पछिल्लो समय एआईको प्रयोग गरी चरित्र हत्या गर्नेदेखि ठगीसम्म हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?