निकुञ्जमा च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सकुशल फेला

लोकपथ
1.4k
Shares

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सकुशल फेला परेका छन् ।

भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजी अभियानकै क्रममा उनीहरू परिवारको सम्पर्कमा आएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सम्पर्कविहीन महिलाहरू सुरक्षित अवस्थामा परिवारसँग सम्पर्कमा आइसकेका छन् ।

‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र व्यापक रूपमा खोजीकार्य गरिएको थियो । केहीबेरअघि उनीहरू परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,’ प्रमुख सेनानी घिमिरेले बताए ।

यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन महिलालाई पनि रणसिंह दल गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले निकुञ्जभित्रबाट सकुशल उद्धार गरेको थियो । उनीहरूलाई सोमबार बिहान उद्धार गरी परिवारको जिम्मा लगाइएको सेनाले जनाएको छ ।

निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र निकुञ्ज प्रशासनले व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए । अहिले सम्पर्कविहीन भएका सबै महिला सकुशल रहेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?