काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहयोग अपरिहार्य रहेको बताएकी छन् ।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने लक्ष्य लिएको बताइन् ।
उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) लगायत विकास साझेदारको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो ।
उनले अन्तर्राष्ट्रिय सहकार्यबाट आधुनिक कृषि पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित तथा दिगो मूल्य शृङ्खलाको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री चौधरीका अनुसार नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्म सीमित पहुँचजस्ता संरचनागत समस्याबाट प्रभावित छ । साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यात प्रवर्द्धनमा समेत कठिनाइ भइरहेको उनले उल्लेख गरिन् ।
सरकारले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण तथा विस्तारलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि उत्पादन वृद्धि, दिगो मूल्य शृङ्खला विकास, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण र समावेशी आर्थिक वृद्धिलाई राष्ट्रिय प्राथमिकतामा राखिएको स्पष्ट पारिन् ।
उनले सिडकाको सहयोगमा सुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाले जलवायु–स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन, पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमता अभिवृद्धिमार्फत नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
मन्त्री चौधरीले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन् । ज्ञान, प्रविधि तथा असल अभ्यासको आदान–प्रदानले नेपालको कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया