बर्डफ्लुले थलियो सदर चिडियाखाना, २७ दिनको बन्दले ३ करोड घाटा

लोकपथ
7
Shares

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमणका कारण २७ दिन बन्द हुँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

बर्डफ्लु संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो । संक्रमण नियन्त्रणमा आएपछि आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा गरी साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमणपछि नियमित सरसफाइ, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानीका उपाय अपनाइएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी एवं रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार सामान्य दिनमा दैनिक एक हजार ७०० देखि एक हजार ८०० जनासम्म आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मको उपस्थिति रहने गरेको थियो । तर पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने ८०० जना मात्र चिडियाखाना पुगेका थिए ।

चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि १५० रुपैयाँ तथा अन्य आगन्तुकका लागि २५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।

चिडियाखानाका अनुसार गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँ आम्दानी भएको थियो । तर बर्डफ्लु संक्रमणका कारण झण्डै एक महिना सेवा अवरुद्ध हुँदा आम्दानीमा ठूलो असर परेको र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?